झापा — ‘बिछोडको पीडा नसकी खप्न दसैंको बेलामा’ सन् १९७२ मा स्वरसम्राट नारायण गोपालसँग कोलकाता पुगेर रेकर्ड गरेकी थिइन् दार्जिलिङकी वरिष्ठ गायिका दिलमाया खातीले यो गीत ।
त्यही कालजयी गीतकी स्रष्टा खातीको मंगलबार राति ८४ वर्षको उमेरमा दार्जिलिङमा निधन भयो ।
सन् १९६२ मा पहिलो पटक काठमाडौं आएकी थिइन् । त्यहीबेला शिवशंकर, नातिकाजी श्रेष्ठ, तारादेवीजस्ता दिग्गज स्रष्टाहरूसँग उनको चिनापरिचय भएको थियो । काठमाडौं घुम्न आएकी उनले रेडियो नेपालमा ६ महिना अल्झिनुपर्यो । यसबीचमा उनका थुप्रै गीत लाइभ रेकर्ड गरिए । दिलमाया भने छिट्टै फुत्किएर दार्जिलिङ फर्किन चाहन्थिन् तर, उनको प्रतिभाबाट कायल भएका नातिकाजीलगायतका दिग्गज संगीतकर्मी उनलाई यतै राख्न चाहन्थे ।
रेडियो नेपालबाट गोल्ड मेडल पाएकी लिदमायालाई रेडियोले उम्किनै दिएन । तर, उनी आमा बिरामी भएको बहाना बनाएर दार्जिलिङ फर्खिएकी थिइन् ।
२०७१ सालमा नारायण गोपाल संगीत कोषले प्रदान गरेको स्वरसम्राट नारायण गोपाल स्मृति पुरस्कार ग्रहण गर्न उनी दोस्रो पटक काठमाडौ आएकी थिइन् । दार्जिलिङका धेरै स्रष्टालाई काठमाडौंले तानिरहेको थियो । तर, दिलमायाको दिल काठमाडौंले कहिल्यै जित्न सकेन । उनी दार्जिलिङ फर्किएर शिक्षणसँगै संगीतकर्ममा रमाइरहिन् ।
नारायण गोपालसँग भने दिलमायाको भेट सन् १९७२ ताका दार्जिलिङमै भएको थियो । भेटको चाँजो मिलाएका थिए, नारायण गोपालका मित अर्थात् गोपाल योञ्जनले । नारायण गोपालकै आग्रहमा उनले ‘बिछोडको पीडा नसकी खप्न दसैंको बेलामा’ बोलको गीत गाएकी थिइन् । यो गीत अहिले पनि उत्तिकै लोकप्रिय मानिन्छ । उनीहरूले कोलकाता पुगेर ‘बिछोडको पीडा र ‘तिमी देख्दा रहर…’ भन्ने युगल गीत रेकर्ड गराएका थिए । दिलमायाले नारायण गोपालसँग गाएका यी दुईमात्रै गीत हुन् ।
उनले बचाई राख सम्झनाभित्र, म कहिले मर्दिनँ, सावन फर्की फेरि आयो, माया लगाई निष्ठुरी फर्केनजस्ता डेढ सय हाराहारीमा गीतहरू गाएकी छन् ।
छातीमा समस्या देखिएका कारण उनी केही समयअघि अस्पताल बसेर फर्किएकी थिइन् । उनलाई खानामा अरुचीलगायतका समस्या थियो । लामो समय शिक्षण पेशामा आबद्ध उनी अविवाहित थिइन् । उनी घुमस्थित घरमा उनी दाइ र भदैनीहरूसित बस्दै आएकी थिइन् । गायिका दिलमायाको निधनले नेपाली संगीत जगतलाई नै अपूरणीय क्षती पुगेको सिलिगुडीका साहित्यकार कालुसिंह रणपहेलीले जनाएका छन् ।