जुम्ला — गुठिचौर गाउँपालिका–४ डाँडाबाडाका कविदत्त न्यौपानेको घरभित्र शुक्रबार राति १ बजेतिर एक्कासि धूवाँको मुस्लो देखियो । उनका १४ वर्षीय कान्छा छोरा दीपेन्द्र दायाँतिरको छेउको कोठामा सुतेका थिए । आफू सुतेको कोठाबाटै धूवाँ देखेपछि दीपेन्द्र झल्यास्स ब्युँझिए । ‘तातो महसुस भएर एक्कासि ब्युँझिएर हेर्दा घरबाहिर आगो दन्किरहेको थियो,’ उनले भने, ‘एकछिन त बाँच्दिनजस्तो लागेको थियो ।’
कोठामा धूवाँले उकुसमुकुस थियो । हतपत अर्को कोठामा गएर दीपेन्द्रले बुबाआमालाई ब्युँझाए । उनीहरू बाहिर निस्कन खोजे । तर घरबाहिर निस्कन खोज्दा बाहिरको चुकुल लगाइएको थियो । ‘बाहिरबाट चुकुल लगाइएकाले निस्कन सम्भव भएन,’ उनले भने, ‘घरभित्रबाट आगो नियन्त्रण गर्न सकिने अवस्था नै थिएन ।’
उनीहरूले झ्याल खोलेर छिमेकीलाई गुहार गरे । छिमेकीले घरको चुकुल खोलिदिए । कविदत्तको ३ जनाको परिवार घरबाहिर निकालेर छिमेकी आगो नियन्त्रणमा जुटे । झन्डै एक घण्टापछि आगो नियन्त्रणमा आयो ।
कविदत्तको घरको छेउमै दलितबाडा बस्ती जोडिएको छ । दलितबाडाका लालचन्द्र सार्कीको घरमा पनि त्यही राति आगजनी भयो । उनको घरको तल्लो तलाको गोठबाट आगजनी सुरु भएको थियो । कोठाभरि गाईबस्तुका लागि घाँस राखिएकाले धूवाँको मुस्लो नजानिँदो हिसाबले देखिएको थियो । त्यही मुस्लोले परिवारलाई उठायो ।
लालचन्द्रको परिवार उठिसक्दा आगो फैलिइरहेको थियो । उनले राति घर आगलागी भइरहेको भन्दै चिच्याए । छिमेकीहरू आएर आगो निभाउन थाले । ‘घरमै पानीको धारा भएकाले र छिमेकीहरू छिट्टै आगो नियन्त्रणमा लागेकाले घर बचाउन सकियो,’ उनले भने, ‘नत्र पूरै घर जल्ने थियो, हामी पनि बाँच्ने थिएनौं ।’ अहिले पनि उनको परिवार ढुक्कसँग घरमा सुत्न सकेको छैन ।
जिल्ला प्रहरी कार्यालयका अनुसार शुक्रबार राति गुठिचौर–४ धवलपुरमा २, बाउली गाउँमा १, दलितबाडामा १, माथिल्लो बिगारेमा १ र छिमेकी चन्दननाथ नगरपालिका–१ डुणाखोचामा १ गरेर ७ घरमा आगजनी भएको छ । राति १ बजे सुरु भएर ३ बजेसम्म अज्ञात समूहबाट आगजनी भएको प्रहरीले जनाएको छ । त्यसै दिन गुठिचौर–५ धितामा रोकेर राखेको ट्याक्टरमा पनि आगजनी भएको थियो ।
गुठिचौरमा आपराधिक घटना बढ्ने क्रममा रहेकाले सुरक्षा चुनौती थपिएको गाउँपालिकाका अध्यक्ष दानबहादुर बुढाले बताए । एकै दिन ७ घरमा आगजनी भएपछि स्थिति निकै त्रासपूर्ण भएको कविदत्तले बताए । ‘घरमा बस्न र सुत्न सकिने अवस्था छैन,’ उनले भने, ‘घरमा बसौं सुरक्षा छैन, नबसौं कसको घरमा जाने ?’ झन्डै एक साताअघि पनि सोही ठाउँमा एक अटोरिक्सामा आगजनी भएको थियो । निरन्तर आगजनीको घटनामा अनुसन्धान भइरहेको जिल्ला प्रहरीका इन्स्पेक्टर धर्मराज जोशीले बताए ।
आगजनीमा स्थानीयकै संलग्न रहेको प्रहरीको अनुमान छ । शंकास्पद व्यक्तिको घरमा निगरानी बढाएर अनुसन्धान भइरहेको इन्स्पेक्टर जोशीले बताए । ‘गाउँमा भइरहेको आगजनीले त्रास फैलिएको छ,’ उनले भने, ‘अहिले घटनास्थलमा चौबिसै घण्टा प्रहरी खटाएका छौं ।’ उनले शनिबार रातिदेखि हरेक बस्ती जोड्ने बाटो सिल गरिएको जनाए । प्रहरीले अनुसन्धानका क्रममा शनिबार सोही वडाका १० जनालाई नियन्त्रणमा लिएर आइतबार छाडेको छ ।